Home About US Our Aim History News Photo Gallery Videos Guest Book Contact Us  
 
 
Share |
सागका लागि उत्साहित छ आर्चरी
अजय फुयाल, काठमाडौं, माघ ११- आर्चरी नेपालमा खासै जमेको खेल होइन, राष्ट्रले यो खेलका लागि गर्ने लगानीको अवस्था शुन्य झैं छ। खेलकुद आफैमा नेपालमा प्राथमिकतामा नपरिरहेको बेला आर्चरी अरु खेलको तुलनामा पनि पीडित छ।
आर्चरीका खेलसामग्री आफैमा निकै महँगो हुने भएकाले पनि यो खेल सामान्य नेपालीको पहुँचभन्दा बाहिर छ। तथापि यो खेलबाट लगानी गरिएभन्दा बढी आशा गर्ने गरिएको छ, जुन आसन्न ११औं दक्षिण एसियाली खेलकुद (साग) को सन्दर्भमा पनि गरिएको छ।



बंगलादेशमा शुक्रबार सुरु हुने दक्षिण एसियाली खेलकुदको कुम्भमेलामा नेपाली आर्चरी टिमबाट पनि कम्तीमा दुई पदक आशा गरिएको छ। टिम इभेन्टमा नेपालले पदक जित्ने आशा गरिएको छ। एकलमा प्रतिस्पर्धा कठिन हुने भएकाले नेपाली टिमले पुरुष टिममा स्वर्ण तथा महिलाको टिममा रजत पदक जित्ने लक्ष्य लिएको छ। आर्चरी टिम व्यवस्थापक रमेशप्रसाद सिबाकोटी यसको सम्भावना पनि देख्छन्। भन्छन्, 'यसपाली राम्रो तयारी छ। खेलाडीको मनोबल उच्च छ। त्यसैले हामीले ११औँ सागबाट कम्तिमा एउटा स्वर्ण ल्याउने लक्ष्य बनाएका छौं।'

व्यवस्थापकको भनाइमा सहमत जनाउँदै प्रशिक्षक किशोरकुमार गुरुङ यसपाली नेपालको सम्भावना बलियो भएको बताउँछन्। दक्षिण एसियामा भारत र भुटान राम्रो भए पनि यसपाली नेपाली टिमको तयारी राम्रो हुनु र स्तरमा व्यापक सुधार आउनुले ठूलो पदक आशा गर्न सक्ने अवस्था आएको उनको ठम्याई छ। 'भारत सबै अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने भएकाले उनीहरूसँग अनुभव राम्रो छ। उनीहरूसँग खेलाडी पनि धेरै छन्, फेरि दक्षिण एसियामा भारत सबै खेलमा राम्रो छ। तर पनि हामीले उनीहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने भनेको होइन, हामी कडा प्रतिस्पर्धा गरेर भारतीय खेलाडीलाई हराउने योजनामा छौं,' प्रशिक्षक गुरुङ भुटान र बंगलादेशलाई पनि कमजोर नआँक्ने पक्षमा छन्, 'भुटानको यो राष्ट्रिय खेल हो भने बंगलादेशले पनि अहिले राम्रो प्रगति गरेको छ। तथापि हामीले भुटानलाई हराउन थालिसकेका छौं र बंगलादेशको चुनौती पनि पार लगाउने विश्वास राखेका छौं।'


हरेक खेलले बोकेको अनिश्चितता कारक नबने यसपाली टिम इभेन्टमा कम्तिमा एउटा स्वर्ण ल्याउने उनको पनि विश्वास छ। भुटानको राष्ट्रिय खेल भए पनि अघिल्लो सागमा नेपालले भुटानलाई पराजित गरेका कारण टिमको आत्मविश्वास बढेको हो। श्रीलंकाको कोलम्बोमा २००६ मा सम्पन्न १०औं सागबाट दक्षिण एसियाली खेलकुदको कुम्भमेलामा आर्चरी समावेश गरिएको थियो। त्यतिखेर देशमा आर्चरी भर्खरै बामे सर्दै गरेको भएकाले नेपाल पदकबिहीन भएर फर्कनुपरेको थियो।

'त्यतिखेर हामीकहाँ आर्चरीको यति विकास भइसकेको थिएन, अहिले टिममा धेरै प्रगति भएको छ। पछिल्ला प्रतिस्पर्धाको अध्ययन गर्दा हामी भारतलाई समेत टक्कर दिन सक्षम भइसकेको प्रमाणित भएको छ। त्यसैले हामी बढी उत्साहित छौं,' प्रशिक्षक गुरुङ भन्छन्।
खासमा परम्परागत खेल भए पनि अहिले आर्चरी धेरै आधुनिक भइसकेको छ।

ओलम्पिकमा समावेश भइसकेको यो खेलको धनुषकाँण निकै महँगो र प्रविधिसम्पन्न हुन्छ। साथमा एरो (तीर) पनि महँगो हुने र विदेशबाट मगाउनुपर्ने भएकाले नेपालको तयारीमा केही बाधा उत्पन्न भइरहेको प्रशिक्षक गुरुङ बताउँछन्। 'हाम्रो तयारी राम्रो भइरहेको छ, खाली सामानको अभावले केही समस्या उत्पन्न भएको छ,' उनी भन्छन्, 'तथापि हाम्रो सम्भावना बलियो छ।'

बैशाखदेखि नै नियमित प्रशिक्षणमा रहेका नेपाली टिममा पुरुष खेलाडी अहिले पनि कीर्तिपुरस्थित आर्चरीको ट्रेनिङ सेन्टरमा अभ्यास गरिरहेका छन भने महिला टिम पोखरामा अभ्यास गरेर भर्खरै राजधानी फर्केको छ। ७२ दिनयता बन्द प्रशिक्षण सिबिरमा रहेका टोलीका केही पुरुष खेलाडीमा काँधको समस्या आउनु चाहिँ प्रतियोगिताको पूर्वसन्ध्यामा टिमको टाउको दुखाई बनेको छ। तथापि फिजियोथेरापीबाट खेलाडीको स्वास्थ्यमा निकै सुधार आएको र प्रतियोगिता सुरु हुँदासम्म पूरा ठीक भइसक्ने व्यवस्थापक सिबाकोटीले बताए।

'लगातार धनुष तानिरहँदा केटाहरूको काँध दुख्ने समस्या आएको हो। अहिले धेरै सुधार भइसकेको छ। ढाका जाँदासम्म पूरा ठीक भइसक्नेछन्,' सिबाकोटीले भने।

नेपाली टिमले खासगरी प्रेमबहादुर पुन र राधिका बुलुनबाट उच्च अपेक्षा गरेको छ। प्रेम ढाकामै तीन वर्षअगाडि पहिलो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा नेपालले पुरुष टिम इभेन्टमा कांस्य पदक जित्दाका सदस्य हुन्। नेपालले अन्तर्राष्ट्रिय आर्चरीमा जितेको त्यही पहिलो पदक थियो। साथमा प्रेम तिनै खेलाडी हुन्, जसले २००८ मा भारतको जमसेदपुरमा सम्पन्न दोस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा व्यक्तिगततर्फ समग्रमा रजत तथा ३० मिटर डिस्ट्यान्समा स्वर्ण पदक जितेका थिए। प्रत्येक देशबाट व्यक्तिगत प्रतिस्पर्धामा तीन/तीन खेलाडी उतार्दा प्रेमले दोस्रो स्थान हासिल गर्न भारतका दुई खेलाडीलाई पछाडि पार्न सकेका थिए। प्रेमको त्यही नतिजाले अहिले नेपाली टिमलाई भारतसँग प्रतिस्पर्धा गर्न सकिने विश्वास पैदा गराएको हो। त्यो सफलताले प्रेमलाई नेपाल खेलकुद पत्रकार मञ्चको वर्षको उत्कृष्ट खेलाडी २०६५ को पुरुष विधामा मनोनयनमा पारेको थियो। यसैगरी राधिकाले भर्खरै विश्वकै आर्चरीको महारथी मानिने दक्षिण कोरियामा एक महिने विशेष प्रशिक्षण लिएर फर्केकाले उनीबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको हो।

नेपाली आर्चरी टोली
पुरुष : प्रेमप्रसाद पुन, रमेश भट्टचन, जितबहादुर मोक्तान, असिम शेरचन
महिला : शान्ति शेरचन, मीना दुरा, राधिका बुलुन, राज्यलक्ष्मी श्रेष्ठ
प्रशिक्षक : दीपकराज गुरुङ र किशोरकुमार गुरुङ
व्यवस्थापक : रमेशप्रसाद सिवाकोटी

source:
http://nagariknews.com/sports/national-sports/9589-2010-01-25-06-50-39.html

Published On: 27-Jan-2010
 
Pages:  1
 
 
 
 
 
 
 
 
 
Home  |  About Us  |  Our Aim  |  History  |  News  |  Photo Gallery  |  Guest Book  |  Contact Us
© Copyright in 2010. Allright Reserved by Diki Archery Pvt. Ltd.Specialist in Archery and Precision sporting equipment
Diki Archery Pvt. Ltd., Reg. No. 35298/02/053, GPO 8975, EPC 1120, Lalitpur, Nepal
Tel: +977-9856024625, 9851083646, Email: dikiarchery@yahoo.com
This site has been visited 207 times.